काठमाण्डौ । रसुवाको भोटेकोशी–टिमुरे क्षेत्रमा आएको बाढीपछि नुवाकोटकी गीता भण्डारीका श्रीमान् अर्जुन बलामी अहिले बेपत्ता हुनुहुन्छ । बाढी आएको दिनदेखि अर्जुनको कुनै खबर नपाएपछि गीता अहिले काठमाण्डौका विभिन्न अस्पतालमा पुगेर श्रीमानको खोजी गरिरहनु भएको छ । हातमा श्रीमानको तस्वीर र सम्पर्क नम्बर लेखिएको पर्चा बोकेर उहाँ अस्पतालका आकस्मिक कक्षदेखि सूचना पाटीसम्म पुग्ने गर्नुहुन्छ ।
पेसाले सवारी चालक रहनुभएका ३३ वर्षीय अर्जुन ककनी गाउँपालिका–१, नुवाकोटका स्थायी बासिन्दा हुनुहुन्छ । कामको सिलसिलामा उहाँ रसुवाको टिमुरे–भोटेकोशी क्षेत्रमा पुग्नुभएको थियो । बाढी आउनुको अघिल्लो दिनसम्म अर्जुन परिवारको सम्पर्कमै रहेको र त्यस दिन बेलुकासमेत श्रीमानसँग कुराकानी भएको गीता बताउनुहुन्छ । 'अघिल्लो दिन बेलुका उहाँसँग कुरा भएको थियो । उहाँले ‘म रसुवामै छु, अब खाना खाएर सुत्छु’ भन्नुभएको थियो । त्यसपछि न फोन लाग्यो, न त कुनै खबर आयो,' गीताले भन्नुभयो । भोलिपल्ट बुधबार रसुवामा बाढी आएको खबर पाएपछि गीतासहित परिवारका सदस्यहरू अर्जुनको अवस्थाबारे चिन्तित छन् । अर्जुनको अन्तिम लोकेसन पनि रसुवाको टिमुरे क्षेत्रमै देखिएको परिवारले जनाएको छ । त्यसयता उहाँको मोबाइलमा सम्पर्क हुन सकेको छैन ।
श्रीमानको खोजीका लागि गीता काठमाण्डौका विभिन्न अस्पतालमा पुग्ने गर्नुभएको छ । बीएण्डबी अस्पताल, शिक्षण अस्पताल ९टिचिङ० र राष्ट्रिय ट्रमा सेन्टर लगायतका अस्पतालमा पुगेर उहाँले घाइते तथा मृतकको नामावली हेर्ने गर्नुभएको छ । तर अहिलेसम्म कतै पनि अर्जुनको नाम भेटिएको छैन ।
यसरी कुनै पनि सूचनामा नाम नभेटिँदा कतै श्रीमान् सुरक्षित अवस्थामा हुनुहुन्छ कि भन्ने आशा पलाउने गरेको उहाँ बताउनुहुन्छ । 'अस्पतालमा उहाँको नाम नभेटिँदा कतै उहाँ जीवितै र सुरक्षित हुनुहुन्छ कि भन्ने आशा लाग्छ । तर समय बित्दै जाँदा मनमा डर पनि लाग्छ,' गीताले भन्नुभयो । घरमा साना बालबच्चा छन् ।
बालबच्चालाई आफन्तको जिम्मा लगाएर उहाँ श्रीमानको खोजीमा काठमाण्डौ आउनुभएको हो । घरमा बालबच्चाले आफ्ना बुबाको अवस्थाबारे सोधिरहँदा आफू भने श्रीमानको खबरको प्रतीक्षामा अस्पताल धाइरहेको उहाँले बताउनुभयो । 'साना बच्चाहरू छन् । घरमा उनीहरू पनि रोएर हैरान हुन्छन् । म भने उहाँको खबर पाउने आशामा हस्पिटल–हस्पिटल धाइरहेकी छु,' उहाँले भन्नुभयो ।
अहिले अर्जुनको खोजीका लागि उहाँका आफन्तहरू पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । सम्भावित ठाउँमा खोजी गरिए पनि अहिलेसम्म अर्जुनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
गीता भने काठमाण्डौमा बसेर अस्पताल तथा उद्धारसँग सम्बन्धित निकायमा पुगेर जानकारी लिइरहनु भएको छ । श्रीमानको तस्वीरसहितको पर्चा बोकेर अस्पताल पुग्ने गर्नुभएकी गीताले अर्जुनलाई कसैले देखेको वा उहाँको अवस्थाबारे कुनै जानकारी पाएको भए परिवारलाई खबर गरिदिन आग्रह गर्नुभएको छ ।
'यो फोटो देखेर उहाँलाई कसैले चिन्नुहुन्छ वा कतै देख्नुभएको छ भने कृपया खबर गरिदिनुहोला । उहाँका साथीभाइ, इष्टमित्र वा जसले देख्नुभएको भए पनि मलाई जानकारी दिएर सहयोग गरिदिनुहुन अनुरोध गर्छु ।' गीताले भन्नुभयो । बाढी र पहिरोपछि केही मानिस बेपत्ता भएका छन् भने प्रभावित परिवारहरू आफ्ना आफन्तको खोजीमा छन् । अर्जुन बलामीबारे कुनै जानकारी भए मोबाइल नम्बर ९७६२२८७२२० वा ९८१३४०२०३५ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्