Ads3

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

काठमाण्डौ । यो वर्षको शरदऋतु असोज, कात्तिक मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेका छन् ।

यो सिजन मनास्लुका आरोहीबाट १५ करोड ८७ लाख ५६ हजार २५० राजस्व सङ्कलन भएको छ । गोरखाको चुमनुब्री एक, सामागाउँमा रहेको आठ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ ।

अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताउनुभयो । आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेसक्याप आउने उहाँले जानकारी दिनुभयो ।

अहिले बेसक्याप नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छ । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ ।

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा छ । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।   

Muktinath

प्रतिक्रिया दिनुहोस्