काठमाण्डौ । हरितालिका तिजको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी र सुरक्षासहित झण्डै ८०० जनशक्ति परिचालन गरेको छ ।
गएराति २ बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्तिसुरक्षा, स्वास्थ्यलगायतको लागि सुरक्षाकर्मी परिचालन गरिएको हो । मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्ससहितको मेडिकल टोली तैनाथ गरिएको छ ।
त्यस्तै, प्रधान कार्यालयबाट खानेपानीको लागि ट्यांकरसहितको टोली पनि रातिदेखि नै खटाइएको छ । यसैगरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्दार टोलीसमेत तयारी अवस्थामा राखिएको छ ।
सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्दिर वरिपरिका क्षेत्रहरू तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी मन्दिर, बिश्वरुपा मन्दिर, गौरिघाटलगायतको क्षेत्रमा शान्तिसुरक्षाका लागि गस्ती बढाइएको छ । आवश्यक समन्वयको लागि मन्दिर परिसरमा कमान्डपोस्ट स्थापना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्