काठमाण्डाै । सूचना तथा सञ्चार मन्त्रालयले भाेटेकाेशी बाढीकाे घटनामा अपुष्ट सूचना, तस्वीर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ ।
मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा आमनागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो ।
मन्त्रालयले विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेकाे छ ।
त्यस्तै अपुष्ट, कपोलकल्पित तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्