काठमाण्डाै । प्राकृतिक विपत्तिका कारण रसुवाकाे गोसाइँकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकहरूलाई सुरक्षितरूपमा काठमाण्डाै फर्कनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले आग्रह गरेको छ ।
रसुवाकाे धुन्चेतर्फको नियमित पदमार्ग अहिले जोखिमपूर्ण र विपद् प्रभावित क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गका रूपमा नुवाकाेटकाे ‘समुन्द्रटार रुट’ लाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो ।
गोसाइँकुण्डबाट काठमाण्डाै फर्कन चाहनेहरूले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प, फेदी, तालु र सिसिपु हुँदै घ्यामफेदी र समुन्द्रटारको बाटो प्रयोग गर्न सक्नेछन् । अहिलेका लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ ।
सरकारले प्रतिकूल मौसम र सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि गोसाइँकुण्डतर्फको नयाँ यात्रा शुरू नगर्नसमेत सर्वसाधारणलाई सचेत गराएको छ ।
आउँदाे केही दिनको मौसम र सम्भावित जोखिमका विषयमा पूर्ण पूर्वानुमान गर्न कठिन भए पनि अहिलेसम्मको जानकारीअनुसार ‘समुन्द्रटार रुट’ सुरक्षित रहेको र यसलाई नै प्राथमिकतामा राखिएको सरकारकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्