Ads3

नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छाैँ : कानूनमन्त्री गाैतम

नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छाैँ : कानूनमन्त्री गाैतम

काठमाण्डाै । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नवयुवा आन्दोलका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आज आयोजना गरेको कार्यक्रममा कानूनमन्त्री गाैतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो । उहाँले नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको बताउनुभयो ।

लोकतन्त्रमा पनि गएकाे भदौ २३ गते नागरिकमाथि गोली चलेको भन्दै मन्त्री गाैतमले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने उल्लेख गर्नुभयाे । उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गर्नुभयो । जेन–जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उहाँको भनाइ छ ।

मन्त्री गाैतमले आन्दोलनपछि भएको चुनावमार्फत नेपाली नागरिकले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार नागरिकको आवाज सुन्न तयार रहेको उल्लेख गर्नुभयाे ।

सरकारसँग प्रतिनिधिसभामा पर्याप्त सङ्ख्या भए पनि कानून निर्माणलगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उहाँले बताउनुभयाे ।

मन्त्री गाैतमले भन्नुभयो, ‘जेन–जी आन्दाेलनका मागहरू सम्बोधन गर्नका लागि हामी हरेक दिनजसो अहिलेको सरकारमा रहनुभएका मन्त्री, सांसदहरूसँग हरेक दिनजसो कुनै न कुनै रूपले भेटिरहेका छौँ; कसरी सहयाेग गर्न सकिन्छ भनेर सरसल्लाह गरिरहेका छौँ । हामीलाई सरकारको संरचनाभित्र काम गर्ने तौरतरिकाहरू जान्नकै लागि पनि थोरै समय लागेकै हो । हामीले नियत सफा राख्यौँ भनेदेखि देश बन्न धेरै समय लाग्दैन । यति भन्छु, यो सरकार सफा नियतसहित आएको छ । हाम्रा शहीले देखेका हरेक सपनाहरू, घाइते साथीहरूले देखेका हरेक सपनाहरू पूरा गर्नका लागि यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ ।’

Muktinath

प्रतिक्रिया दिनुहोस्