Ads3

कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गरेको छ : पूर्वप्रधानमन्त्री भट्टराई

कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गरेको छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाण्डाै । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गर्न सकेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई आत्मसात् गरी समयानुकूल कांग्रेस परिवर्तन भएको बताउनुभयो ।

देशमा संविधान जारी भएपछि लोकतन्त्रको एउटा चरण पूरा भएको र अब पुराना पार्टीका रूपान्तरण वा वैकल्पिक शक्ति आवश्यक छ भन्दै आफूले १२ वर्षअघि अभियान शुरू गरेको स्मरण गर्दै उहाँले रूपान्तरणको नारासहित कांग्रेस अघि बढेकामा खुशी व्यक्त गर्नुभयो ।

‘पुराना पार्टी रूपान्तरण हुनुपर्छ, होइन भने सबै दलका रूपान्तरणकारीहरू मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा (माओवादी) मा हुँदैमा मैले भनेको थिएँ । १२ वर्षपछि यो सिद्ध हुँदै गएकामा खुशी व्यक्त गर्दछु’, उहाँले भन्नुभयाे, ‘विश्वमा भएको चामत्कारिक विकासका बीच हाम्रा दलहरू हिजोको ढाँचामा रहिरनुहुँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझ्न जरुरी छ । नयाँ सिक्न नजान्ने मान्छे एक प्रकारले निरक्षर हुन् । हामी सबै दलले आउँदाे २० वर्षको योजना बनाउनमा प्रतिस्पर्धा गरौँ । जसको राम्रो हुन्छ, त्यसको योजना कार्यान्वयन गरौँ ।’

भट्टराईले नेपालको चुनौतीको सामना गर्न कांग्रेसले अग्रणी भूमिका खेलोस् भन्दै आफूहरू शान्ति प्रक्रियामा आउँदै गर्दा एक विदेशी पत्रकारले सोधेको प्रश्नमा गगन थापालाई भोलिको नेताका रूपमा चित्रण गरेको स्मरण गर्नुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्