काठमाण्डाै । सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो ।
टोलीमा फेरि फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन् । २६ वर्षीय म्याकमुलेनले स्कटल्यान्डका ३० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ अर्धशतकसहित ७८७ रन बनाउनुका साथै ८ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा ५४ खेलमा ११ अर्धशतकसहित १ हजार ३६६ रन बनाउनुका साथै ११ विकेट लिएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुग्लेइन र इङ्ग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ । एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाडीहरू अनुबन्ध गरिरहेका छन् ।
एनपीएल आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्