Ads3

कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने

कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने

काठमाण्डाै । बङ्गालको खाडीमा विकसित भई गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ । भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो २४ घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भेग बाहेक सबैजसो ठाउँमा पानी परेको छ ।

मौसमविद्हरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भू–भागसम्म फैलिएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसल्धारे वर्षाको सम्भावना छ ।

भोलि शुक्रवार वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ । विशेषगरी भोलि र पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलाे हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ । देशभर ६४९ ठाउँलाई विपद्को दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

मौसमविद्हरूले बाढी, पहिरो र गेग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्