Ads3

सेनाको निष्कर्ष : सुरुङभित्रकाे उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

सेनाको निष्कर्ष : सुरुङभित्रकाे उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

काठमाण्डौ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ ।

प्रतिकूल र तीव्र गतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ ।

भोटेकोशी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।’

रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित ठाउँकाे जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनाका प्रयासबारे सेनाले उपलब्ध गराएको दस्तावेजमा विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइँ छ ।

भोटेकोशी बाढी : खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपाली सेना

गएकाे भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्‍यायो । यस अप्रत्याशित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुल तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा विलिन हुन पुगे । यस्तो विकराल र विषम राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो । विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत  इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए ।

विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन ९ हजार ३०० भन्दा धेरै सैनिक जनशक्ति परिचालन गरिनुका साथै ‘क्विक रियाक्शन टिम’ (सीक्यूआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चार वटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए । भौगोलिक विकटता र सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, सुरुङ उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनर्स्थापनामा द्रूत गतिमा कार्य अगाडि बढाइरहेको छ ।

भौगोलिक जटिलता र सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो । एमआई–१७ लगायत सात वटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो ।

त्रिशूली र धुन्चेमा बेस स्थापना गरी ‘एअर ट्राफिक कन्ट्रोल’ (एटीसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा धेरै उडान भएका छन् । यस हवाई अभियानबाट कुल चार हजार २४२ जना (तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक) को सकुशल उद्धार भएको छ । यसका साथै टिमुरे, स्याफ्रुबेसी, मैलुङ र हाकुबेसीजस्ता ठाउँमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एअरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै सुरुङ क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक उपकरण लैजान ‘स्लिङ अपरेशन’ समेत सञ्चालन गरिएको थियो ।

रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धार कार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा र सडक विच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकाठाउँ, स्याफ्रुबेसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन र पालिकासँग समन्वय र सहकार्य गरी परिस्थितिको बारेमा जानकारी सङ्कलन गरेको थियो ।

अप्ठ्यारो भूभागमा सम्भावित ठाउँको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन् । जमिन उत्खनन र खोजीका क्रममा फेला परेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ । स्थानीय प्रशासन, पालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरू भएका छन् ।

यस विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धार कार्य हो । जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपछि सात जनाको जीवितै उद्धार भएको छ । त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेशिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत सङ्कलन भएका थिए ।

खोज तथा उद्धार टोलीद्वारा झन्डै एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङ छिचाेलिएपछि पाँच वटा शव तथा मानव अङ्ग सङ्कलन गर्नुका साथै रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धार कार्य भएको छ । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा सुरुङहरूमा खोज तथा उद्धार कार्यमा संलग्न भएका थिए ।

त्यसैगरी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका साथै बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गर्‍याे जसबाट बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले तुरुन्त प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे । सुरुङ तथा भौगोलिक रूपमा विकट क्षेत्रमा गम्भीर घाइते अवस्थामा फेला परेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीमा रहेकाे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएर आपत्कालीन उपचार प्रदान गरियो । विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीयसँगको समन्वयमा निसङ्क्रमण अपरेशन सञ्चालन गरिएको थियो ।

खोज तथा उद्धार कार्य, स्वास्थ सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । नुवाकोटको देवीघाटमा रहेकाे तादी नदीमा झन्डै ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो । स्याफ्रुबेसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फड्के निर्माण गरिए । बेत्रावतीमा बेलिब्रिज निर्माण कार्य अगाडि बढाउने क्रममा विस्फाेटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने ठाउँसम्म जाने बाटो निर्माण भइहेको छ ।

समग्रमा रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रह्यो । सम्पूर्ण उद्धार अभियान प्रतिकूल र तीव्र गतिमा बदलिने मौसम, पहाडी तथा  साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो । आफ्नै परिवार तथा सैनिकसमेत विपद‍्बाट प्रभावित रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि निरन्तर अग्रपङ्क्तिमा रही खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ ।

विशेषतः जलविद्युत् आयाेजनाकाे साँघुरो र जोखिमपूर्ण सुरुङभित्र झन्डै १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित ठाउँ तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ ।

राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ । सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।

साथै विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्