Ads3

चाडपर्वमा यात्रुले भाेग्ने सास्ती रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

चाडपर्वमा यात्रुले भाेग्ने सास्ती रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डाै । दशैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले यात्रुले भोग्ने सास्ती, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो ।

बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले सास्ती भोग्नुपरेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढी–पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दशैँअघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । विशेषगरी पृथ्वी राजमार्गलाई २४ घण्टाभित्र र बीपी राजमार्गलाई दशैँअघि नै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ ।

छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्संरचना गर्नुपर्ने, बसपार्क बाहिरबाट जथाभाबी यात्रु चढाउने प्रवृत्ति रोक्नुपर्ने र सङ्घीय राजधानी काठमाण्डौका प्रमुख सडकमा ट्राफिक पूर्वाधार चुस्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

सांसद राजुनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफैँ अनुगमनमा निस्किने चेतावनी दिनुभयो ।

यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रहरी नायब महानिरीक्षक (डीएसपी) सुनिलजङ्ग शाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिने र कलङ्की–नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्