काठमाण्डाै । भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल सङ्घका अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।
नाइजेरिया फुटबल सङ्घको अर्काे चुनाव हुनुभन्दा एक महिनाअघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन् । सङ्घको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा ‘व्यापक सुधार’ गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ ।
राष्ट्रिय टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् २०२४ मा सरकारबाट प्राप्त झन्डै १ करोड २७ लाख अमेरिकी डलर दुरुपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय ‘डिपार्टमेन्ट अफ स्टेट सर्भिसेज’ ले नाइजेरिया फुटबल सङ्घमाथि अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अफ्रिकाको एक प्रमुख फुटबल राष्ट्र नाइजेरियाको फुटबल सञ्चालक निकायले लामो समयदेखि भ्रष्टाचार र अव्यवस्थापनको आरोप खेप्दै आएको छ ।
राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकहरूले आफूहरूले पाउनुपर्ने भत्ताका विषयमा पटक–पटक सार्वजनिकरूपमा विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्