Ads3

नर्वेका राजा ह्याराल्डको ८९ वर्षको उमेरमा निधन

नर्वेका राजा ह्याराल्डको ८९ वर्षको उमेरमा निधन

नर्वेका राजा ह्याराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजेतिर ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ ।

रगतसम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्याराल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो । उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ ।

राजा ह्याराल्डको निधन हुनुअघिको २४ घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीडले दरबारमा फूल चढाएको बीबीसीले  जनाएको छ । 

ह्याराल्ड १४औँ शताब्दीयता नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो । उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नुभएको छ ।

३५ वर्ष राजगद्दीमा बिताएका ह्याराल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ । उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारका रूपमा भूमिका निर्वाह गर्नुभयो ।

राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्याराल्ड सरल स्वभावका, सम्मानित र जनप्रिय हुनुहुन्थ्यो । उनीहरूले उहाँलाई राष्ट्रको ‘हजुरबुबा’ र ‘नागरिकका राजा’ का रूपमा चित्रण गरेका छन् ।

सन् २०११ मा ओस्लो र उतोया टापुमा भएका बम तथा बन्दुक आक्रमणपछि ह्याराल्डले नर्वेलीहरूलाई एकअर्कालाई साथ दिन र ‘डरलाई हाबी हुन नदिन’ आह्वान गर्नुभएको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्