काठमाण्डौ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन लाग्दासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन ।
कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने विषयमा दलहरूबीच ठोस सहमति नहुँदा राजनीतिक अन्योल बढेको छ ।
एमाले र नेकपाले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको थियो ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै आज शुक्रवारसम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गर्नुभएको थियो ।
निर्धारित समयसीमा आज सकिंदैछ, तर पनि कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन । मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ सरकार गठनबारे निर्णय लिन नसक्दा प्रक्रिया अन्योलमा परेको छ ।
एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेको भए पनि जसपाले ठोस निर्णय गर्न सकेको छैन । कूल १०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ जना तथा नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्