काठमाण्डाै । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला ३ दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा धेरै ग्यास सिलिन्डर काठमाण्डाै भित्र्याइएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिन्डर काठमाण्डाै ल्याएका हुन् ।
यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिन्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाण्डाै उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति गराइरहेको छ ।
यही भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाण्डाै भित्र्याउने व्यवस्था गरेको हो ।
निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्