काठमाण्डाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहनुभएका चिरीबाबु महर्जन सबैभन्दा धेरै मतसहित विजयी हुनुभएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गर्नुभएको हो । प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभएको छ । त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना आज बिहानमात्रै सकिएको छ । गएको असोज २३ गतेदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।
नवनिर्वाचित सभापति गगन थापाले भोलि शनिवार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ लिने तयारी छ ।
सभापति थापाको शपथपछि अन्य निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दशैँपछि गर्ने तय भएको छ । त्यसपछि कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्