काठमाण्डौ । ‘ब्लड बैंक’मा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । दशैँको बिदा अवधिमा केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कम भएका र अस्पतालमा बिरामीका लागि आवश्यक रगतको माग उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीका अनुसार चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा भएको बिदाका कारण रक्तदानका कार्यक्रममा कमी आएको हो ।
केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, पिआरबीसी र पिआरपीको मौज्दात सकिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनका लागि कठिनाइ भएको छ ।
रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न सोसाइटीले आग्रह गरेको छ । बिरामीका लागि रगत आवश्यक भएमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवामा सम्पर्क गर्न वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्