काठमाण्डौ । सडक विभागले पछिल्लो बाढी/पहिरोबाट अवरुद्ध सडक खुलाउन काम तीव्र पारेको जनाएको छ । रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण चार दिनदेखि पूर्णरूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भैरहेको छ ।
काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सडक कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्णरूपमा अवरुद्ध छ । राजमार्गको चौकीडाँडा, गुमाउने, गिम्दीबेँसी, चारसयबेँसीलगायतका ठाउँमा रोशी खोलाको कटान तथा पहिरोका कारण सडकमा क्षति पुगेको छ ।
बीपी राजमार्ग भएर चल्ने गाडी धुलिखेलमा रोकिएका छन् । बीपी राजमार्ग अवरुद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाण्डौतर्फ छुट्ने गाडी र यात्रु प्रभावित भएका छन् । कान्तिलोकपथ र टिकाभैरव–चारघरे सडक खण्डको पहिरो हटाएर सडक सञ्चालनमा ल्याएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानले जानकारी दिनुभयो ।
धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ । कृष्णभीर खण्ड पूर्णरुपमा दुईतर्फी खुलाउन तीन/चार दिन लाग्न सक्ने सडक विभागको अनुमान छ ।
मकवानपुरको हेटौँडा–भैँसे–भिमफेदी–फाखेल–काठमाण्डौ सडक खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ । नारायणगढ–मुग्लिन सडक खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाडी चलिरहेका छन् ।
यस्तै, त्रिभुवन राजपथ सडक खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ । दुईतर्फी खुलाउन काम भैरहेको छ ।
बाढी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुको आवतजावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ । गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरुद्ध भएका हुन् ।
मुख्यगरी कालिगण्डकी करिडोर र आसपासका सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ । कालिगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरला खण्डमा धेरै क्षति भएको छ । यो सडक खुलाउन अझै ३ दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ ।
यस्तै, चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सडकमा पनि क्षति पुगेकाले नयाँ ट्रयाक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ । यस्तै, मध्यपहाडी राजमार्ग अन्तर्गत लमजुङको मध्यनेपाल–८ तथा बुर्तिबाङ–पातिहाल्ने खण्डमा पहिरो तथा सडक कटानका कारण यातायात ठप्प छ । यो सडक सञ्चालनमा आउन पनि केही दिन लाग्नेछ ।
यस्तै, कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला, राँका तथा बाँगेसिमल–दहीखोला खण्डमा खसेको पहिरो पन्छाउने काम भैरहेको छ । प्रहरी तथा प्रशासनले अवरुद्ध विभिन्न सडक खुलाउने प्रयास गरिरहेको जनाएका छन् । यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्