काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार नगरेको बताउनुभएको छ ।
सरकारले सुरुङभित्र फसेका व्यक्ति लगायतको ज्यान जोगाउन विदेशी विशेषज्ञहरूको सहायता अस्वीकार गरेको चर्चाका बीच परराष्ट्रमन्त्री खनालले जवाफ दिनुभएको हो ।
परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरु विदेशी देशबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो । भारत, चीन, जापान, अस्ट्रेलियालगायतका देशले सहयोगका लागि टोली तथा आवश्यक सामग्री पठाइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले विपद्ले निम्त्याएको विनाशको स्तर निकै ठूलो रहेको र यसले नेपाललाई तत्कालका लागि उद्धार र राहतमा भन्दा दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भन्दै मन्त्री खनालले नेपालमा तत्काल खोज तथा उद्धारको नेतृत्व सुरक्षा निकायहरूले गरिरहेको बताउनुभयो ।
तर, सुरक्षा निकायको क्षमता र स्रोतभन्दा बाहिरका विशेष प्रकृतिका उद्धारमा भने नेपालले विदेशी साझेदारसँग सहयोग मागिरहेको उहाँको भनाइ छ । पुनर्निर्माणका लागि सहायता जुटाउने विषयमा सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री शिशिर खनालले विपद्पछिको आवश्यकता आकलन तयार पार्ने काम सक्दो छिटो गरिने बताउनुभयो ।
दाता सम्मेलन गर्नेबारे प्रारम्भिक तयारी सुरु भएको बताउँदै सरकारको ध्यान अझै सक्दो धेरैको जीवन बचाउनेतर्फ केन्द्रित रहेको मन्त्री खनालले बताउनुभयो । उहाँले यी कामबारे अहिल्यै कुनै समयसीमा बताउन सकिने अवस्था नरहेको बताउनुभयो ।
तत्कालीन परिस्थितिमा चीनबाट समयमै सूचना नआएको भन्ने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा उहाँले घटनाको प्रकृतिअनुसार सम्भवतः चीनलाई पनि स्पष्ट थाहा नभएको हुन सक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्