काठमाण्डाै । सरकारले बूढीगण्डकीमा आएकाे बाढीबाट प्रभावित तीन जिल्लाका ६ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा, धादिङ र बागलुङका प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिनुभयाे ।
यही असाेज २५ गते बूढीगण्डकीमा बाढी आएको थियो । मन्त्री तिमल्सिनाकाअनुसार बाढीबाट अतिप्रभावित गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ एवम् असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
यी क्षेत्रमा क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा सरकारले रकम उपलब्ध गराउने भएको छ ।
वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म धेरैमा ६ महिनाका लागि तत्काल राहत स्वरूप बसोबास र जीविकोपार्जनका लागि ४ जनासम्मको सदस्य सङ्ख्या भएका परिवारलाई प्रतिमहिना १५ हजार र त्योभन्दा धेरै सदस्य भएको परिवारका लागि प्रतिसदस्य थप २ हजार रुपैयाँ प्रतिमहिना प्रदान गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्