काठमाण्डौ । आज २२औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार, नेपाली कफीको विश्व बजारमा विस्तार’ नाराका साथ राष्ट्रिय कफी दिवस विभिन्न कार्यक्रम गरि मनाउन लागिएको हो ।
१९९५ सालमा गुल्मीको आँपचौरबाट औपचारिक रुपमा नेपाली कफी उत्पादनको शुरुआत भएको मानिन्छ । अहिले ४० भन्दा धेरै जिल्लाका हजारौँ किसान कफी खेतीलाई व्यावसायिक आत्मनिर्भरतासँग जोडेका छन् ।
समुद्र सतहदेखि झण्डै ८०० देखि १,६०० मिटरसम्मको उचाइमा, छहारीदार रुखमुनि र प्राकृतिक वातावरणमा हुर्कने नेपाली अराबीका कफीको स्वाद विश्वका उत्कृष्ट कफी पारखीहरूको रोजाइमा पर्ने गरेको छ ।
रासायनिक मल र विषादीको प्रयोगबिना नै स्थानीय जैविक स्रोतसाधनको उपयोग गरी उत्पादन गरिने भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मूल्य र प्रतिष्ठा निकै उच्च रहेको छ ।
कफी खेती, तालिम र यससँग आवद्ध पेसा व्यवसायले युवाहरूलाई स्वदेशमै रोजगारी र स्वरोजगारको अवसर समेत सिर्जना गरेको छ । विश्व बजारमा नेपाली कफीको अत्यधिक माग हुँदाहुँदै पनि मागअनुसारको उत्पादन र आपूर्ति अझै पर्याप्त हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्