काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण सङ्कटका बेला लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो । सङ्कटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ । घाइतेलाई स्थलमार्ग तथा हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याउनेदेखि शव व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण र प्रभावितलाई मनोबल बढाउने काममा सुरक्षाकर्मी अहोरात्र खटिएका छन् ।
उहाँले कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद सुरक्षाकर्मीले बाढीले थुपारेको दलदल तथा भग्नावशेषमा खोजी तथा उद्धार जारी राखेको बताउनुभयो । बाढीका कारण सम्पर्कविहीन भएका आफन्तको खोजी गरिदिन आग्रह गर्ने नागरिकको सङ्ख्या ठूलो रहेको भन्दै प्रधानमन्त्री शाहले सुरक्षाकर्मीले आफ्नो थकान र तनावसमेत भुलेर उद्धारमा खटिरहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभएको छ । सहकर्मी गुमाएको पीडाबीच पनि सुरक्षाकर्मीले खोज तथा उद्धार, शव व्यवस्थापन, शिविरको सुरक्षा तथा सम्भावित थप जोखिमबारे नागरिकलाई सचेत गराउने काम गरिरहेको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्