Ads3

अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ । कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जियायीलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा एआइआइबीकी अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।

उहाँले विपद्पछिको पुनःनिर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष जियायीले बैंकले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ ।

साथै, स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआइआइबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गर्नुभयो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्