अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमा आक्रमण गरेको छ । इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई दुई पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले जनाएको छ ।
सेन्टकमका अनुसार ओमानको खाडीमा इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी)सँग जोडिएका चारवटा तेल ट्याङ्करमा आक्रमण गरिएको छ । अर्को ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुनजिकै निशाना बनाइएको बीबीसीले जनाएको छ ।
अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डालाई क्षेप्यास्त्र प्रहार गरेको छ । जोर्डनले इरानबाट प्रहार गरिएका २० मध्ये १८ वटा क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।
बाँकी दुई क्षेप्यास्त्र भने मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए । इरानले थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ । उसले कुवेत र बहराइनका बन्दरगाह नजिक रहेका अमेरिकासँग सम्बन्धित तेल ट्याङ्करका चालक दललाई जहाज बन्दरगाहमा राख्न वा सुरक्षित स्थानमा लैजान चेतावनी दिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसेनाका जहाजलाई आक्रमण गर्ने प्रयास जारी राखे थप इरानी तेल ट्याङ्करमा आक्रमण हुन सक्ने बताएका छन् । पछिल्लो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि बढेको छ ।
एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य १.५ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.४१ डलर पुगेको छ । इरानको झण्डै ९० प्रतिशत कच्चा तेल यही खार्ग टापु हुँदै निर्यात हुने भएकाले यो आक्रमणबाट विश्व तेल बजारमा थप असर पार्न सक्ने चिन्ता बढेको छ ।
यसैबीच, इरान समर्थित हुथी समूहले साउदी अरेबियाका ऊर्जा केन्द्र र नागरिक पूर्वाधारमा पनि आक्रमण गरेको छ। ड्रोन र क्षेप्यास्त्र आक्रमणबाट केही तेल प्रशोधन केन्द्रमा आगलागी भएको र ७३ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको तनाव पछिल्लो समय थप चर्किदै गएको छ।
प्रतिक्रिया दिनुहोस्