काठमाण्डौ । नेपाल वायुसेवा निगम उच्च ब्याजदरको ऋणभार, जहाज विस्तारमा भएको ढिलाइ र प्राविधिक जनशक्तिको अभावका कारण गम्भीर वित्तीय तथा सञ्चालन संकटमा परेको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको ऋणको किस्ता र ब्याज तिर्नसमेत कठिन भइरहेको बताउनुभयो । उहाँका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदर करिब साढे नौदेखि साढे १० प्रतिशतसम्म रहेकाले निगममाथि ठूलो आर्थिक भार परेको छ ।
कोभिड–१९ को समयमा समेत उच्च ब्याज कायम रहँदा झण्डै सात अर्ब रुपैयाँ थप भार परेको निगमको भनाइ छ । पुरानो बक्यौता चुक्ता गरेपछि मात्र ऋण पुनर्संरचना गर्ने ऋणदाता निकायको अडान रहेकाले समस्या थप जटिल बनेको कालाखेतीले बताउनुभयो ।
निगमको फ्लीट विस्तार हुन नसक्दा झण्डै एक खर्ब २० अर्ब रुपैयाँदेखि एक खर्ब ३५ अर्ब रुपैयाँको नेपाली हवाई बजारमा निगमको हिस्सा झण्डै १५ देखि १६ प्रतिशतमा सीमित रहेको उहाँले जानकारी दिनुभयो । ठूलो हिस्सा विदेशी वायुसेवाले ओगट्दा नेपाली पुँजीसमेत ठूलो मात्रामा बाहिरिरहेको उहाँको भनाइ छ ।
यस्तै, निगमका चारवटा इन्जिन मर्मतका लागि झण्डै ८ अर्ब रुपैयाँ आवश्यक रहेको निगमले जनाएको छ । बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसम्बन्धी कानुनी तथा खरिद प्रक्रियाका जटिलताका कारण इन्जिन मर्मतमा समस्या भइरहेको निगमले जनाएको छ ।
प्राविधिक समस्याका कारण वाइडबडी जहाज ग्राउन्डेड हुँदा जापानतर्फका करिब छ वटा उडान प्रभावित भई करिब २४ करोड रुपैयाँ राजस्व गुमेको निगमको अनुमान छ । इटालीमा मर्मतका क्रममा रहेको अर्को जहाजमा समेत प्राविधिक समस्या देखिएपछि पाट्र्स लिजमा लिएर समाधानको प्रयास भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताउनु भयो ।
यस्तै वैठकमा नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले नेपाल वायुसेवा निगमको पछिल्लो कार्यसम्पादनलाई ‘लज्जास्पद’ संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्