इटालीले सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको मातृ कम्पनी ‘मेटा’ माथि ८८ करोड ७० लाख अमेरिकी डलर अर्थात् १ खर्ब ३४ अर्ब रुपैयाँ जरिवाना गरेको छ ।एन्ड्रोइड प्रयोगकर्ताहरूको स्पष्ट सहमतिविना नै उनीहरूका तस्वीरहरूमा पहुँच प्राप्त गरेको विषयमा इटालेली नियामकहरूले मेटामाथि जरिवाना लगाएका बीबीसीले जनाएको छ ।
इटालीको डेटा सुरक्षा निकायका अनुसार फेसबुक एपमा रहेको एउटा फिचरमार्फत मेटाले प्रयोगकर्ताहरूका तस्वीर र भिडियोहरू हेर्न सक्ने अवस्था थियो ।
मेटाले यस विषयमा दुई करोड प्रयोगकर्ताहरूलाई उचित जानकारी नदिएको नियामक निकायको भनाइ छ । फेसबुकले प्रयोगकर्ताहरूसँग एपमार्फत उनीहरूको सम्पूर्ण फोटो ग्यालरीमा पहुँच प्राप्त गर्न एक पटक मात्र अनुमति मागेको थियो ।
यद्यपि यस प्रक्रियाका क्रममा यो अनुमतिले फेसबुकलाई तस्वीहरूका आधारमा पोस्टहरू सुझाव दिन पनि अनुमति दिनेछ भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको थिएन ।
इटालीको नियामक निकायले मेटालाई ६० दिनको समय दिएको छ । कम्पनीले यो सुविधा स्वतः सक्रिय हुने व्यवस्था बन्द गर्नुपर्नेछ र प्रयोगकर्ताहरूबाट छुट्टै सहमति लिनुपर्नेछ ।
नियामक निकायले यस विषयबाट ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका जनाएको छ । एप अपडेट नगरेका वा यो सुविधा प्रयोग गर्न पहिले नै अनुमति दिइसकेका उनीहरूका हकमा यो समस्या कायमै रहेको खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्