काठमाण्डौ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाडका साथै सुदूरपश्चिम प्रदेशको पहाड र तराईका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
हिमालका केही ठाउँ तथा पहाडका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
अहिले पूर्वी तराइका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा झापा क्षेत्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । गएराति पनि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्