Ads3

त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधिसभामा उठेको छ । 

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो । 

सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो । उहाँले केही महिनाअघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनु भयो । 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो । उहाँले चालकको तलब–सुविधा, कामको समय, आत्मसम्मान र मानसिक स्वास्थ्यमा राज्यको ध्यान पुग्नुपर्ने भन्दै सरकार, यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई आफ्नो कार्यशैलीको समीक्षा गर्न आग्रह गर्नुभयो । 

त्रिपुरेश्वरमै यसअघि गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दोङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ पूर्णतः अन्यायपूर्ण र अव्यावहारिक रहेको भन्दै आपत्ति जनाउनु भयो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्