काठमाण्डाै । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता भएको छ ।
कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने अस्ति बुधवारको मन्त्रिपरिषद् निर्णय बदर गर्न र केसीलाई आईजीपीको हैसियतमा कुनै काम कारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै हिजो सर्वोच्चमा रिट लगिएको थियो । कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले पेश गरेको रिटमाथि छलफलपछि आज दर्ता भएको हो ।
आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानूनी रूपमा हटाइएको दाबी कार्कीले रिटमा गर्नुभएको छ । केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय तथा त्यसका आधारमा जारी भएका पत्र, पदस्थापन, पदबहाली र दर्ज्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय तथा काम कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।
याे रिटमा कात्तिक ३० गतेका लागि पेशी ताेकिएकाे छ । सामान्यतया रिट दर्ता भएको भोलिपल्टदेखि मुद्दाको पेशी तोक्ने प्रचलन छ । तर भोलिदेखि बिहीवारसम्म तिहार बिदा परेको छ ।
प्रतिक्रिया दिनुहोस्