नेपाल ल्होमी समाजद्वारा स्थानीय मातृभाषा विषयमा चारदिने गोष्ठी सम्पन्न भएको छ। समाजले बाल विकास प्रारम्भिक पुनर्ताजगी तालिम तथा स्थानीय मातृभाषा विषयको पाठ्यसामग्रीका लेखकहरूको गोष्ठी सञ्चालन गरेको हो ।
कात्तिक २६ गतेदेखि २९ गतेसम्म खाँदबारीस्थित आरती होटलमा सञ्चालन भएको कार्यक्रममा १९ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय मातृभाषासम्बन्धी विषयवस्तु, बाल विकासका लागि मातृभाषा शिक्षणको महत्त्व तथा मातृभाषामा आधारित शिक्षण सिकाइका विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
गोष्ठीका क्रममा मातृभाषा रोस्टरलाई पुनर्ताजगी तालिम प्रदान गर्नुका साथै स्थानीय मातृभाषाको पाठ्यसामग्री निर्माणमा योगदान पुर्याउने लेखकहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो। उक्त पाठ्यसामग्री यसअघि नै तयार भई प्रयोगमा रहेको आयोजकले जनाएको छ ।
स्थानीय मातृभाषाको प्रयोगलाई शिक्षण सिकाइसँग जोड्दै बालबालिकाको भाषिक तथा बौद्धिक विकासमा सहयोग पुर्याउने, मातृभाषाको संरक्षण गर्ने र नयाँ पुस्तामा भाषिक ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण तथा मातृभाषामा आधारित शिक्षण सिकाइलाई प्रभावकारी बनाउन यस्ता तालिम तथा गोष्ठीले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। गोष्ठीमा भाषाशास्त्री डा. नेत्रमणि दुमीराईले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्