काठमाण्डाै । माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै पीडित परिवारले काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।
आयोजनामा फसेका व्यक्तिका आफन्तहरूले उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ ।
भाेटेकाेशीमा आएकाे बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । बाढीले आयोजनालाई पूर्णरूपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजी कार्यका लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन । आयोजनामा उद्धार कार्य कठिनाइ देखिएको सरकारको भनाइ छ । तर पीडितहरू भने उद्धारमा कठिनाइ छ भन्दैमा सरकार पन्छिन नमिल्ने बताउँछन् ।
बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली–३ ‘बी’ मा कार्यरत कर्मचारी तथा कामदारको खोजीमा सरकारले तदारुकता नदेखाएको बताउनुभयो । उहाँका श्रीमान् वरिष्ठ भूगर्भविद् सुमेश अमात्य अहिले सम्पर्कविहीन हुनुहुन्छ । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकर्षण गराउँदा पनि सरकारले चासो नदिएको उहाँको भनाइ छ ।
सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा शव भए पनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडित परिवारले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्