काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेतालाई सुध्रिन चेतावनी दिएका हुन्।
‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन।’
उनले आफूहरूलाई जनताले जिताएर पठाएको पनि बताए। ‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ।अहिले पनि छैन,’ उनले थपे, ‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मेरोबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा। म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिराख्नुभएको छ।’
उनले सुशासनको पक्षमा उभिँदा युवाहरूलाई तत्कालीन सरकारले गोली हानेको पनि आरोप लगाए। अहिलेको सरकारले जेनजीको मागलाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो।
उनले सुशासन स्थापित गर्न आफूलाई जिम्मेवारी दिएको भन्दै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई धन्यवाद पनि दिए। उनले सभापति लामिछानेसँग आफूले सल्लाह लिइरहेको पनि उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्