अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको दुराशयपूर्ण प्रयोगले एक अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
अमेरिकी प्रसारण संस्था एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै ७० वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सिर्जना गर्ने बताउनुभयो । यद्यपि एआईले मानव सभ्यता नै पूर्णरूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइ छ ।
गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर आक्रमण हुन सक्ने जोखिम औँल्याउँदै अमेरिकालगायत विश्वका सरकारहरूले कम्पनीहरूको भर नपरी तत्काल कडा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एन्थ्रोपिक र ओपनएआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनमा एआई आधारित सफ्टवेयर प्रयोग गरी बढेका ह्याकिङ घटनाहरूलाई ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरेका छन् ।
स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्