हिमालय क्षेत्रमा जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण ठूलो मानवीय जोखिम बढेको छ । नयाँ अध्ययन अनुसार उत्तरी नेपाल, तिब्बत र भारतको उत्तराखण्डसहितका उच्च जोखिमयुक्त क्षेत्रमा सन् २०१६ देखि २०२३ को बीचमा भवन तथा पूर्वाधार निर्माण झन्डै ४५ प्रतिशतले बढेको छ ।
‘साइन्टिफिक रिपोर्ट्स’ मा प्रकाशित अध्ययनले हिमनदी वा हिमताल फुटेर आउने बाढीको अति जोखिम रहेका क्षेत्रमा त झन्डै ७८ प्रतिशतले विकास कार्य बढेको देखाएको छ । जसका कारण हिमालय क्षेत्रका केही भागमा मात्रै कम्तीमा ३ लाख मानिस सम्भावित विपद्को जोखिमपूर्ण बाटोमा बसिरहेका छन् ।
बेलायत, नेपाल र भारतका वैज्ञानिकहरूले हिमनदी ताल र नदी किनारका क्षेत्रमा पर्यटन पूर्वाधार तथा घरजग्गाको तीव्र विस्तार भएको औँल्याएका छन् ।
अध्ययनले नदीको सतहबाट १६४ फिटभित्रका भवनलाई मात्र जोखिममा राखे पनि भर्खरै भोटेकोशीमा आएको जस्तो बाढीले २३० फिटसम्म सतह बढाउँदा किनारबाट टाढाका संरचनासमेत लेदोमा पुरिएका छन् ।
विश्वव्यापी औसतभन्दा हिमालय क्षेत्रमा दोब्बर गतिमा भइरहेको तापक्रम वृद्धिका कारण हिउँ र हिमनदीहरू पग्लिने क्रम बढेको छ । यसले तालहरू फुटेर बाढी आउने खतरा बढाएको छ भने उच्च उचाइमा समेत हिउँको सट्टा वर्षा हुँदा जमिन भासिने र पहिरो जाने जोखिम थप बढेको छ ।
प्रतिक्रिया दिनुहोस्