Ads3

साविक वाना गाविस अन्तरवडा स्तरीय भलिबलमा वाना–१ प्रथम

साविक वाना गाविस अन्तरवडा स्तरीय भलिबलमा वाना–१ प्रथम

संखुवासभा । शुभदीपावलीको अवसरमा पाँचखपन नगरपालिका–५ स्थित वडा खेलकुद विकास समितिको आयोजनामा सञ्चालित साविक वाना गाविस अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वाना–१ ले जितेको छ।

खमारे खेलमैदानमा कात्तिक १५, १६ र १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा वाना १ प्रथम, वाना–७ दोस्रो, वाना–२ तेस्रो र वाना–५ ले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा साविक वानाका विभिन्न वडाका १४ वटा टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान, प्रोत्साहन तथा खेलकुदको विकास गर्ने उद्देश्यले साविक वडा स्तरीय प्रतियोगिता आयोजना गरिएको वडा खेलकुद विकास समितिका संयोजक रामबहादुर तामाङले बताउनुभयो। उहाँका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाहरूको आकर्षण बढाउन सहयोग पुर्‍याउनेछ।

प्रतियोगिताको समापन कार्यक्रममा पाँचखपन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जुद्धबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष टोपबहादुर तामाङ, वडा नम्बर ६ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, समाजसेवी प्रकाशकुमार राईलगायत खेलप्रेमी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै विभिन्न वडाबीच आपसी सद्भाव, भाइचारा र खेलकुद संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

Muktinath

प्रतिक्रिया दिनुहोस्