Ads3

खाँदबारी र अमेरिकाको टाउन अफ सुपेरियरबीच भगिनी सम्बन्ध थप मजबुत बनाउने पहल

खाँदबारी र अमेरिकाको टाउन अफ सुपेरियरबीच भगिनी सम्बन्ध थप मजबुत बनाउने पहल

साजन राई / संखुवासभा । अमेरिकाको कोलोराडो राज्यस्थित टाउन अफ सुपेरियर र संखुवासभाको खाँदबारी नगरपालिकाबीच स्थापित भगिनी सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुई नगरका प्रमुखहरूबीच विशेष भेटघाट तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ।

हेल्पिङ ह्यान्ड्सका संस्थापक तथा समाजसेवीद्वय नारायण श्रेष्ठ र सृजना श्रेष्ठको विशेष पहलमा स्थापित उक्त भगिनी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ टाउन अफ सुपेरियरका नवनिर्वाचित नगर प्रमुख निल शाह खाँदबारी आइपुग्नुभएको हो।

खाँदबारी नगरपालिकाको कार्यालयमा आयोजित औपचारिक समारोहमा नगर प्रमुख महेश थपलिया र टाउन अफ सुपेरियरका नगर प्रमुख निल शाहबीच द्विपक्षीय हित तथा आपसी सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

कार्यक्रममा भगिनी सम्बन्ध स्थापनाका सूत्रधार एवं समाजसेवी नारायण श्रेष्ठले यो ऐतिहासिक सम्झौतासम्म आइपुग्न निकै ठूलो संघर्ष र लामो प्रयास गर्नुपरेको स्मरण गर्नुभयो। उहाँले निरन्तरको प्रयासपछि सम्झौतालाई मूर्तरूप दिन सफल भएको उल्लेख गर्दै यस सहकार्यले जिल्लावासीलाई अन्तर्राष्ट्रिय स्तरको नयाँ अनुभव हासिल गर्ने अवसर प्रदान गर्नुका साथै संखुवासभाको समग्र विकास र परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, खाँदबारी नगर प्रमुख महेश थपलियाले दुई नगरबीचको भगिनी सम्बन्धले शिक्षा, स्वास्थ्य, पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा नयाँ आयाम थप्ने बताउनुभयो। टाउन अफ सुपेरियरका नगर प्रमुख शाहले खाँदबारीको आतिथ्यताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा दुई सहरबीचको सहकार्यलाई अझ बलियो र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।

खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल शर्माको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा जिल्लाका अन्य विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

भेटघाटका क्रममा भगिनी सम्झौतामार्फत आगामी दिनमा सञ्चालन गर्न सकिने विभिन्न सामाजिक तथा विकास निर्माणसम्बन्धी योजनाका विषयमा समेत छलफल भएको नगरपालिकाले जनाएको छ।

Muktinath

प्रतिक्रिया दिनुहोस्