काठमाण्डौ । सरकारले वर्षा, बाढी तथा पहिरोबाट प्रभावित ६ जिल्लाका २० वटा पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा गरिएको हो ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न पालिका तह तथा केही वडालाई सङ्कटग्रस्त क्षेत्रमा समावेश छ ।
गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा मनाङको चामे गाउँपालिका, नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ सङ्कटग्रस्त घोषित भएका छन् । त्यस्तै, म्याग्दीका अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मङ्गला गाउँपालिका, धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा भएको छ ।
बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा ताराखोला गाउँपालिका पनि सङ्कटग्रस्त क्षेत्रमा परेका छन् । यसैगरी, पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नम्बर २, ८, १० र ११, बिहादी गाउँपालिकाको वडा नम्बर ६, महाशिला गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नम्बर २ र ३ लाई सङ्कटग्रस्त घोषणा गरिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाको वडा नम्बर ५ पनि सङ्कटग्रस्त क्षेत्रमा समावेश गरिएको छ । सरकारको यो निर्णयले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत वितरण, पुनरुत्थान तथा पुनर्निर्माणका कामलाई तीव्रता दिन र आवश्यक बजेट तथा जनशक्ति परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्