अमेरिका–इजरायलसँगकाे युद्धका बाबजुद इरानसँग २ हजार ५०० वटासम्म क्षेप्यास्त्र (मिसाइल) रहेका प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकाको ‘द वाल स्ट्रीट जर्नल’ ले उल्लेख गरेको अमेरिकी गुप्तचर निकायको एक मूल्याङ्कनअनुसार अमेरिका र इजरायलले महिनौँसम्म इरानको सैन्य पूर्वाधारमा आक्रमण गरे पनि ऊसँग अहिले पनि १ हजार ५०० देखि २ हजार ५०० वटा क्षेप्यास्त्र छन् ।
यदि युद्ध फेरि चर्किए यी क्षेप्यास्त्रहरूको सहयोगमा इरानले अमेरिकी र उसका सहयोगीहरूका ठाउँहरूलाई निशाना बनाउन सक्ने ‘द हिन्दूस्तान टाइम्स’ ले जनाएको छ ।
अमेरिकी अधिकारीहरूले यो अनुमान अनिश्चित रहेको बताएका छन् । किनकि इरानसँग प्रक्षेपणका लागि कति वटा क्षेप्यास्त्र तयार छन् र कति वटा भण्डारणमा छन् भन्ने यकिन गर्न कठिन छ । यद्यपि उनीहरूले इरानसँग अझै पनि ठूलो परिमाणमा क्षेप्यास्त्रको भण्डार रहेको बताए ।
इजरायली सैन्य अधिकारीहरूले पनि इरानसँग १ हजार ५०० भन्दा धेरै ब्यालेस्टिक क्षेप्यास्त्र रहेको अनुमान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा खाडी क्षेत्र हेर्ने उप–सहायक रक्षा सचिवका रूपमा काम गर्नुभएकी सिमोन लेडिनले १ हजार ५०० क्षेप्यास्त्रको न्यूनतम अनुमानलाई आधार मान्दा पनि इरानले युद्धअघिको आफ्नो अनुमानित भण्डारको आधाभन्दा धेरै हिस्सा पुनः पूर्ति गरिसकेको देखिने बताउनुभयो ।
उहाँका अनुसार सन् २०२५ को जुन महिनामा भएको १२ दिने युद्ध र फेब्रुअरीमा शुरू भएको वर्तमान युद्धको बीचको अवधिमा इरानले आफ्नो हातहतियारको भण्डार पूर्णरूपमा पुनर्निर्माण गरिसकेको छ ।
ट्रम्प प्रशासनले इरानको सैन्य क्षमता धेरै हदसम्म नष्ट भइसकेको दाबी गरेपछि यो मूल्याङ्कन सार्वजनिक भएको हो । ‘अपरेशन एपिक फ्युरी’ पछि अप्रिल महिनामा ह्वाइट हाउसले इरानको रक्षा–औद्योगिक आधारको ८५ प्रतिशतभन्दा धेरै हिस्सा नष्ट भएको तथा त्यहाँका ब्यालेस्टिक मिसाइल भण्डार र उत्पादन क्षमतालाई पूर्णरूपमा ध्वस्त पारिएको दाबी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्