अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि बढाए युरोपसँगको व्यापारमा कडा कदम चाल्ने चेतावनी दिनुभएको छ ।
ट्रम्पले यस्तो सहकार्य अघि बढाए युरोपेली सामानमा धेरै चर्काे भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले क्यानडासँग सम्बन्धित प्रस्तावलाई हास्यास्पदसमेत टिप्पणी गर्नुभएको छ ।
ट्रम्पको चेतावनी युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले स्ट्रासबर्गमा युरोपेली संसद्मा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि सारेपछि आएको हो ।
फोन डेर लेयेनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने दिशामा काम गर्न चाहेको बताउनुभएको थियो । त्यसपछि युरोपेली संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले क्यानडा र युरोपबीच रणनीतिक सहकार्य थप गहिरो बनाउन समर्थन जनाउनुभएको थियो ।
उहाँले महत्वपूर्ण खनिज, कृत्रिम बुद्धिमत्ता, रक्षा, डिजिटल व्यापार र ऊर्जा सुरक्षालगायतका क्षेत्रमा सहकार्यको सम्भावना औँल्याउनुभएको छ । युरोपेली आयोगले भने क्यानडासँगको प्रस्ताव कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्