Ads3

खोज तथा उद्धारको काम निरन्तर रहन्छ : प्रधानमन्त्री शाह

खोज तथा उद्धारको काम निरन्तर रहन्छ : प्रधानमन्त्री शाह

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको बाढीपछि भैरहेको खोज तथा उद्धारको काम निरन्तर रहने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत् उहाँले रसुवागढी जलविद्युत् आयोजनामा संरचना, पावरहाउस बाहिर र भित्र भएका धेरैजसो सामग्रीमा क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै उहाँले लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको र नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै खोज कार्यलाई थप प्रभावकारी बनाएको जानकारी दिनुभयो । नेपाली सेनाको टोली भदौ १० गते नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको उहाँको भनाइ छ ।

दलदलका कारण सुरुङभित्र जान समस्या थियो । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि खोजी निरन्तर छ । त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेबाटै खोज कार्यको प्रयास भएको थियो ।

यो आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो । दलदलका कारण खोजका उपकरणहरु लैजान नसकिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोज कार्य जारी राखेका छन् । खोज कार्यका लागि थप उपकरण लैजान प्रयास भैरहेको छ ।

बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरु सम्पर्कविहीन भएको विवरणअनुसार खोजी र उद्धारको कार्य निरन्तर रहने उहाँले बताउनुभएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्