Ads3

आज र भोलि अझै ठूलो वर्षा हुने, सावधानी अपनाउन आग्रह

आज र भोलि अझै ठूलो वर्षा हुने, सावधानी अपनाउन आग्रह

काठमाण्डौ । देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरु भएको हो ।

आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको झरीले नदी र खोलाहरुमा बाढी आएको छ । भक्तपुर, काभ्रेपलाञ्चोक र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाईसतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले नदी तथा खोलाको जलसतह थप बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा रहन तथा नदी किनारमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ ।

आज र भोलि जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन मौमस पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेशको एक/दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

मौसमका जानकार उज्ववल उपाध्यायले बागमती, मधेश, गण्डकी र लुम्बिनीमा ठूलो तथा कर्णाली र कोशीमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार अब साना ठूला नदीमा बाढी, भिरालो भूभागमा पहिरो र लेदोको जोखिम छ ।

आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाएको जनाएको छ । धेरै विद्यालयले आज बिदा दिएका छन् । मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भैरहेको सरकारी निकायले जनाएका छन् ।

मौसमविदहरुले विशेषगरी आज र भोलि लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन् । 

Muktinath

प्रतिक्रिया दिनुहोस्