Ads3

बैंकको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन

बैंकको ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन

काठमाण्डाै । वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ । बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.०४६ प्रतिशत विन्दुले घटेको छ । भदौमा ४.१३ प्रतिशत रहेको औसत ब्याजदर असोजमा ४.०८ प्रतिशतमा झरेको छ ।

२० मध्ये ४ वटा बैंकले दर घटाएका छन् । कुमारी, नबिल, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका हुन् । बाँकी १६ वटाको स्थिर छ ।

वाणिज्य बैंकमध्ये असोजमा सबैभन्दा धेरै प्रभु बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछ । सबैभन्दा कम कुमारी बैंकबाट ३.७३ प्रतिशतमात्रै ब्याज पाइन्छ । बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दति खातामा भन्दा १ प्रतिशत धेरै ब्याज दिन्छन् ।

लामो समयदेखि बैंकहरूसँग कर्जा लगानीयोग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ । अहिले बैंकहरूसँग झन्डै १५ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ । कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । यसरी १३ खर्ब ६१ अर्ब रुपैयाँ राखेका छन् ।

अहिले मासिक २ खर्ब रुपैयाँभन्दा धेरै रेमिटेन्स भित्रिरहेकोले पनि बैंकहरूमा पैसा थुप्रिरहेको हो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्