Ads3

विपद् प्रभावित पूर्वाधार पुनर्निर्माणका लागि कार्ययोजना अघि बढ्दै

विपद् प्रभावित पूर्वाधार पुनर्निर्माणका लागि कार्ययोजना अघि बढ्दै

काठमाण्डौ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माणका लागि सरकारले विशेष कार्य योजना अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिलेसम्म सडक क्षेत्रमा मात्रै झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क आएको छ ।

सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले क्षतिग्रस्त आयोजनाहरूको वर्गीकरण गरी पुनर्निर्माणको खाका तयार पारिएको जानकारी दिनुभयो ।

विपद्पछिको अवस्था सम्बोधन गर्न आठ वटा छुट्टाछुट्टै समिति गठन गरी काम भइरहेको छ । पुनर्निर्माण गर्दा आउँदा दिनमा क्षति नहुने गरी जलवायु अनुकूलित र सुरक्षित संरचना बनाइने मन्त्रालयको योजना छ ।

नागरिकको आवागमनलाई सहज बनाउन तत्कालका लागि सडक र पुलको पहुँच जोड्ने कामलाई सर्वोच्च प्राथमिकता दिइएको उहाँले बताउनुभयो । आर्थिक वर्षको बीचमा विपद् परेकाले बजेट सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ ।

स्रोत सुनिश्चित हुनासाथ अत्यावश्यक आयोजनाहरूलाई प्राथमिकताका आधारमा तत्काल ठेक्का प्रक्रियामा लगेर निर्माण सुरु गरिने मन्त्रालयले जनाएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्