काठमाण्डाै । प्रहरीको थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश र न्यायाधीशको सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएपछि न्यायिक क्षेत्र तरङ्गित भएको छ । यसै विषयमा छलफल गर्न आज सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक बस्दैछ ।
फुलकोर्ट बैठकका लागि सबै न्यायाधीशहरूलाई खबर गरिएको छ । सापकोटासँग विभिन्न माध्यमबाट न्यायाधीशहरूको संवाद भएको सार्वजनिक भएपछि फुलकोर्ट बैठक बस्न लागेको हो ।
अदालतका चार जना न्यायाधीशसँग सापकोटाको सम्पर्क भएको खुलेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालसँग सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएका छन् ।
न्यायाधीश फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाका विषयमा कुराकानी भएको सार्वजनिक विवरणमा उल्लेख छ । सार्वजनिक ह्वाट्सएप संवादमा सापकोटाले एक मुद्दामा प्रभाव पार्न खोजेको देखिए पनि न्यायाधीश फुयालले भने कानूनी आधारअनुसार नै धरौटीमा छाडिएको प्रतिक्रिया दिनुभएको छ । त्यही विवादमा प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा समेत अमेरिका तथा नेपालका बैंकमा रकम जम्मा गर्न भनिएको विवरण सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।
प्रहरीले बिचौलिया सापकोटालाई पक्राउ गरी उनीसँग जोडिएका न्यायाधीश, सुरक्षा अधिकारी र राजनीतिक व्यक्तित्वहरूको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ ।
विवादित छविका इनम सापकोटासँग थुप्रै उच्च पदस्थ व्यक्तिहरूको सम्बन्ध खुल्न थालेपछि प्रहरीले छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्