काठमाण्डौ । रसुवाको टिमुरेमा रहेको नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । भोटेकोशी नदीमा आएको बाढीले सीमाक्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो शनिवार राष्ट्रिय झण्डा राखेको हो ।
गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा रहेको नेपाल–चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ ।बाढीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचनासमेत प्रभावित भएका छन् ।
सीमामा राष्ट्रिय झण्डा पुनःस्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट गएको टोलीले झण्डै तीन किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो । अत्यन्त कठिन र जोखिमपूर्ण भौगोलिक अवस्थाबीच टोली सीमा नाकासम्म पुगेर झण्डा राख्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाढीले सीमा क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्याएपछि सीमाको सुरक्षा तथा आवागमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ । यस्तो अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झण्डा पुनःस्थापित गरेको हो ।
सीमा नाकामा राष्ट्रिय झण्डा पुनःस्थापनाले प्राकृतिक विपत्तिका कारण भौतिक संरचना क्षतिग्रस्त भए पनि नेपालको सीमा सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिने सन्देश दिएको छ । बाढीपछि रसुवागढी नाकाको पूर्वाधार पुनर्निर्माण तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
भोटेकोशी नदीको बाढीबाट भएको क्षतिको पुनःनिर्माण र सीमा क्षेत्रमा आवागमन तथा सुरक्षा व्यवस्था सहज बनाउने काम अबका दिनमा थप चुनौतीपूर्ण हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्