काठमाण्डौ । आज विश्व स्कुल दूध दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने यो दिवस विद्यालयमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि तथा विद्यालय दूध कार्यक्रम प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।
यो वर्ष “बलियो हड्डी, बलियो शरीर खेलकुद र विकासका लागि दूध अमूल्य आधार” भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । नेपाल डेरी एसोसिएसनले बालबालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दुग्ध क्षेत्रको दिगो विकासका लागि राष्ट्रिय विद्यालय दूध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएको छ ।
विश्व स्कुल दूध दिवस–२०८३ को अवसरमा एसोसिएसनले विद्यालय दूध कार्यक्रमलाई बालबालिकालाई दूध सेवन गराउने कार्यक्रमका रूपमा मात्र नभई पोषण शिक्षा, स्वस्थ खानपान, किसानको उत्पादनको बजार र दुग्ध उद्योगको विकासमा जोड दिनुपर्ने बताएको छ ।
विद्यालयमा दूधको माग विस्तार हुँदा किसानले उत्पादन गरेको दूधको बजार बढ्नुका साथै स्थानीय दुग्ध उद्योग, रोजगारी र आर्थिक गतिविधिमा समेत योगदान पुग्न सक्छ । सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्