काठमाण्डौ । प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि पत्रकारलाई साइबर ब्युरोमा बोलाएको प्रहरीले स्पष्टीकरण दिएको छ ।
प्रहरी प्रवक्ताको ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरिएको वक्तव्यमा समाचारको विषयमा प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको उल्लेख छ ।
सही मनसायले नै त्यसरी सञ्चारकर्मीलाई बोलाइएको प्रहरीको दाबी छ । समाचारको विषयमा पत्रकारमाथि हिजो भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य भने बाझिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले यसमा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नभएको दाबी गरेको छ । तर, नेपाल प्रहरीले भने प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई सत्यता बुझ्न बोलाइएको दाबी गरेको छ ।
प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादन अन्तर्गतको कदम भन्दै यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी पनि गरेको छ ।
प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफू सधैँ प्रतिबद्ध रहेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्