काठमाण्डौ । गएको बुधबार रातिदेखिको झरी रोकिएलगत्तै जनजीवन सामान्य बन्दै गएको छ । हिजोसम्म ठूलो बाढी आएको नारायणी, कालीगण्डकी लगायतका नदी खोलाहरुमा बाढी कम हुन थालेको छ ।
गएको बुधबार बेलुकीदेखि शुरु भएको झरी गएरातिदेखि रोकिएको हो । पूर्वमा हिजो बिहानदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो । पश्चिम भेगमा पनि गएरातिदेखि वर्षा रोकिएको हो । काठमाण्डौ उपत्यकामा आज बिहान हुस्सु लागेको छ । चिसो पनि बढेको छ । अहिले भने घाम लागेको छ ।
मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना छैन । तर मनसुनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका हिमाल र पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्