अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सात दिने युद्धविराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता पनि बढेको छ । यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेको समाचार संस्था एएफपीले जनाएको छ ।
युद्धविरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रवार दुई प्रतिशतभन्दा धेरै घटेको कच्चा तेलको मूल्य आज फेरि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक दशमलव आठ प्रतिशतले बढेर प्रतिब्यारेल १०६ दशमलव १९ अमेरिकी डलर पुगेको छ ।
इरानले गएको हप्ता संयुक्त राष्ट्रसङ्घको महासभामा सात दिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो । यो प्रस्ताव कार्यान्वयन भए हर्मुज जलमार्ग पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो । विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको हर्मुज अहिले अमेरिका र इरानबीचको तनावको महत्वपूर्ण विषय बनेको छ ।
तर ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ । यद्यपि उहाँले अमेरिका र इरानबीच वार्ता पुनः शुरू हुन सक्ने सङ्केत दिनुभयो । अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवै देशबीच अप्रत्यक्ष वार्ता आजदेखि नै हुन सक्ने सम्भावना रहेको छ ।
हर्मुज जलमार्ग पुनः खोल्न इरानले केही शर्तहरू अघि सारेको छ । रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने उसका प्रमुख माग रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्