काठमाण्डौ । हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि जितेको छ ।वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्बिर इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियाको हुब नदी उपत्यकामा खिचेका हुन् ।
हात्तीहरूको गतिविधि नियालिरहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिह्न फेला पारेका थिए । ती चिह्न पछ्याउँदै जाँदा उनले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देखे । बच्चाको एउटा खुट्टा हात्तीको दाह्रा र सुँडको बीचमा अड्किएको थियो ।
यस वर्षको प्रतियोगितामा हात्ती, कीरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पतिसहित प्रकृतिका विविध पक्ष समेटिएका तस्बिर पुरस्कृत भएका छन् ।बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिता सन् १९६५ देखि सञ्चालन हुँदै आएको छ । वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन् ।
सीएनएनकाअनुसार यस वर्षका पुरस्कृत तस्बिरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्